काबुलबाट फर्किएका सेक्युरिटी गार्ड यसरी सम्झन्छन् त्रासदी !!

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

अफगानिस्तानमा करिब साढे छ वर्ष बिताएका नैकापका राजु महर्जनलाई नेपाली सेक्युरिटी गार्ड बोकेको गाडी नै आत्मघाती विस्फोटमा परेको खबरले स्तब्ध र अचम्मित बनाएको छ।
‘सेक्युरीटी गार्ड चढेको गाडी ब्लास्टमा परेको सुन्दा मलाई अलि अचम्म लागेको छ,’ उनले सोमबार भने, ‘सामान्यतया यस्तो सम्भावना नै हुँदैन।’
सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको विस्फोटमा १४ नेपाली मारिएपछि सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘मैले काम गरेको ठाउँमा त हाम्रो बस्ने व्यवस्था क्याम्पमै थियो। सडकमा यात्रा गर्नु त डेन्जर नै हुन्छ। घुम्न जाँदा वा एउटा क्याम्पबाट अर्कोमा जाँदा मात्रै हो बस चढ्ने।’
अफगानिस्तान कति खतरायुक्त छ भन्ने उनको यही भनाइले संकेत गर्छ। यहाँ बसोबास गर्नेका लागि बम पड्किनु कुनै ठूलो घटना हुँदैन। दिनहुँ सानासाना विस्फोट भइरहन्छन्। कति अफगानी मर्छन् भन्ने हिसाबै हुँदैन। तै पनि अहिलेसम्म नेपाली सेक्युरिटी गार्डलाई लक्ष्य गरेर कुनै विस्फोट भने भएको थिएन।
केही महिना अघिमात्र नेपाल फर्किएका महर्जनले भने, ‘संयोग नै भन्नुपर्छ मैले यस्तो भोग्नु परेन। तर अफगानिस्तान बस्ने नेपाली कुनै पनि बेला मृत्युको सामना गर्न तयार भएर बसेका हुन्छन्। भाग्यले साथ दिए पैसा कमाएर फर्किउँला, नदिए के हो के हो भन्ने हुन्छ।’
यस्तो जान्दाजान्दै किन गइरहेका छन् त नेपाली अफगानिस्तान?
अमेरिकी र नेटो सेनाको प्रवेशपछि अफगानिस्तान सेक्युरिटी गार्डका लागि राम्रो कमाइ गर्ने आकर्षक गन्तव्यस्थल बन्यो। त्यहाँ काम गर्ने सेक्युरिटी गार्डले कम्तीमा मासिक एक लाख रुपैयाँ कमाउन सक्छ। यसैका लागि मृत्युको चुनौती स्वीकार गरेर अवैधानिक बाटोबाट नेपाली कामदार त्यहाँ पुग्छन्।
यसैगरी काबुल पुगेका थिए राजु।
काठमाडौंको एउटा निजी कम्पनीमा सामान्य जागिर खाइरहेका उनको सम्पर्क अफगान काममा पठाउने एजेन्टसँग भयो। एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएर उनी सन् २००७ जनवरीमा घरबाट निस्किए। एजेन्टले उनलाई पहिले भारतको राजधानी नयाँ दिल्ली पुर्यायो। नयाँ दिल्लीमा तीन महिना कुरेपछि अफगानिस्तानको भिसा लाग्यो, भिजिटिङ भिसा। एक महिनाको भिजिटिङ भिसामा उनी अफगानिस्तान उडे। मार्चमा बल्ल काबुल पुगे।
काबुलमा एजेन्टले रिसिभ गर्यो र गेस्ट हाउसमा पुर्याएर छाडिदियो। दिल्ली बस्दाको खर्च एजेन्टले नै व्यहोरे पनि काबुलमा होटल खर्च आफैं तिर्नुपर्ने भयो। त्यतिमात्र होइन, छ महिनासम्म उनले कुनै काम पाएनन्।
‘यहाँबाट जाने बेला त हिँडेको एक महिनामै अफगानिस्तान पुगिन्छ, काम पाउन एक महिनाजति लाग्छ भनेको थियो, तर तीन महिनामा बल्ल काबुल पुगियो,’ उनले भने, ‘अरू छ महिना काम पाइएन।’
एजेन्टको मिठो बोली अझै सम्झना छ उनलाई, ‘घरबाट हिँडेको दुई महिनापछि पैसा आउन थाल्छ।’
काबुल जाने प्रत्येक नेपालीजस्तै उनी पनि एजेन्टले देखाएको यही सपनामा भुलेर काबुल छिरेका थिए, मृत्युसँग खेल्ने जोखिम मोल्दै।
राजुका अनुसार अफगानिस्तान पुगेका नेपालीलाई काम खोजिदिने पनि नेपाली नै हुन्छन्। एक जनालाई काम लगाइदिएबापत उनीहरूले छ–सात सय डलर लिन्छन्। उनी एजेन्टलाई मागेजति रकम तिर्न तयार भएरै बसेका थिए।
एक दिन सामान्य चिनजानको एउटा अफगानी उनीहरू बसिरहेको ठाउँमा आयो र भन्यो, ‘हाम्रो कम्पनीमा जागिर खुलेको छ, २० जनालाई। तिमीहरू जाने हैन?’
काम रुँगेर बसिरहेका उनीहरूले होइन भन्नुपर्ने कारण नै थिएन। उनीहरू त्यो मानिसको पछि लागे। कम्पनीमा पेस गर्न भनेर पासपोर्ट पनि उसैले लियो। उनीहरूलाई काबुलबाट सात-आठ घन्टा गाडीमा यात्रा गरेपछि पुगिने मजासराफ भन्ने ठाउँमा पुर्याइयो। केही दिन एउटा होटलमा राखेर त्यो मान्छे हरायो। पछि खोजी गरेर बल्लतल्ल उसको फोन नम्बर पत्ता लाग्यो र कुरा पनि भयो।
यतिबेलासम्म उनीहरूले काम पाउनु त टाढाको कुरा भइसकेको थियो, उसको पन्जाबाट कसरी फुत्किने भन्ने नै ठूलो कुरा भयो। होटलको खर्च त आफूले तिर्नुपर्यो नै, त्यो मानिसलाई प्रत्येकले तीन सय डलर समेत बुझाउनुपर्यो।
‘त्यहाँ मानिसहरू जस्तोसुकै क्रिमिनल एक्टिभिटि गर्न तयार हुन्छन्,’ राजुले भने, ‘जोगिन एकदमै गाह्रो हुन्छ।’
काम नपाउन्जेल अफगानिस्तान बस्नु निकै खर्चिलो छ। राजुले छ महिना बेरोजगार भएर बस्दा साथमा रहेको छ-सात सय डलर सकाए। त्यसपछि घरबाट एक हजार डलर मगाएर गुजारा चलाए। छ महिनापछि उनले कम्पास सेक्युरिटी कम्पनीमा काम पाए।
कम्पनीले उनलाई अमेरिकी सेनाको काबुल वेयरहाउसमा खटायो। लामो समय त्यहीँ काम गरे। राजधानी हुनाले अन्यत्रभन्दा अलि सुरक्षित नै महसुस हुन्थ्यो। बीचमा एक साता उनको ड्युटी कान्दाहारमा पर्यो, जहाँ उनी बस्दाबस्दै तीनपटक आक्रमण भएको थियो। भाग्यवश, उनी बसेको बेला त्यहाँ आक्रमण भएन। त्यसपछि उनले निकै संवदेनशील मानिएको दक्षिणी प्रान्त हेल्मन्डमा समेत ड्युटी गरे।
उनी काबुलमै रहँदा कान्दाहार क्याम्पमा आक्रमण भयो। खबर एकैछिनमा फैलिहाल्यो। त्रासको सञ्चार काबुलमा पनि भइहाल्यो। त्यो बेलाको डर सुनाउँदै उनले भने, ‘हाम्रो पनि त पालो आउला भनेजस्तो लाग्ने। आक्रमण भएपछि डर त भइहाल्छ नि। तालिवान भन्नेवित्तिकै अलि डरजस्तो महसुस हुनेगर्छ।’
प्रत्येकपटक आक्रमण हुँदा साथीहरू नेपाल फर्किने कुरा गर्थे, तर घरबाट जाँदाको ऋण ५ देखि १० लाखसम्म हुन्छ। एजेन्टलाई नै डेढ लाखदेखि सात लाखसम्म तिरेका हुन्छन्। यही सम्झिएर रोकिन्छन्। दुईचार दिनमा डर कम हुन्छ। त्यसपछि भन्न थाल्छन्, ‘नेपाल गएर के गर्ने, कि करोड कमाइन्छ कि ज्यान गुमाइन्छ।’
‘त्यहाँ जाने भनेकै ज्यान रिस्कमा राखेर काम गर्न हो,’ राजु भन्छन्, ‘दिनहुँ विस्फोट हुन्छ, क्याम्पमा लास ल्याउने र लाने भइरहन्छ। हामी बाहिरको त्रासदी अनुमान गर्दै क्याम्पमा पनि आक्रमण हुने हो कि भन्ने सोचेर डराइरहन्छौं। बम केमा फिट भएर आउँछ पत्तै हुँदैन।’
सन् २०१२ सुरुतिरै हो, यस्तै एउटा घटना भयो। उनी सुपरभाइजरमा भर्खरै बढुवा भएका थिए। बिहानै उनको ड्युटी थियो। सेनाका लागि आवश्यक इन्धन त्यही वायरहाउसमा जम्मा गरेर राखिएको हुन्छ। थप इन्धन बोकेका ३६ वटा गाडी क्याम्पमा आइपुगे।
तेल खन्याउन सुरु भइसकेको थियो। तालिमप्राप्त कुकुर ड्युटीमै थियो। कुकुर खतराको संकेत गर्दै एउटा ट्यांकरको पछाडि गएर भुक्न थाल्यो। सबैले हेरे, त्यहाँ केही अनौठो चिज जोडिएको थियो। कुकुर डोर्याइरहेको सेक्युरिटी गार्ड चिच्यायो, ‘बम।’
उनले मेजरलाई खबर गरे। मेजरले तत्कालै तेल खन्याउने काम रोक्न आदेश दिए। जो जहाँ उभिएका थिए, त्यहीँ रोकिए। एकाएक क्याम्पमा त्रास फैलिहाल्यो। जमिनमुनि ठूलो मात्रामा तेल स्टोरेज थियो। माथि भरिएका ३० भन्दा धेरै गाडी लाइनमा थिए। अरू गाडी पनि वरपर थिए। उनको मनमा चिसो पस्यो– विस्फोट भइहाल्यो भने के होला?
जीवन र मृत्यु, उनको अगाडि आधा-आधा थियो। रोज्न पाउँदा सबैले जीवन नै रोज्ने हुन् तर निर्णय उनको हातमा थिएन। त्यो क्षणको प्रतिक्षा साह्रै पीडादायी भयो उनलाई।
‘बम विस्फोट भएको भए त बाँच्ने कुनै सम्भावनै थिएन, सबै ध्वस्त हुन्थ्यो,’ कल्पना गर्दैमा उनको अनुहार बिग्रियो।
अन्ततः सेनाले बम सफलतापूर्वक डिस्पोज गर्यो। उनी बाँच्न सफल भए।
केही समयपछि उनी हेल्मन्ड गए। अलिक शान्ति छाएजस्तो अवस्था थियो। नभए हेल्मन्ड अत्यन्तै संवेदनशील क्षेत्र हो। उनी बसेका बेला कुनै ठूलो घटना भएन। छुट्टीको बेला कहिले कहिले बाहिर घुम्न निस्कन्थे। सुरक्षा गार्ड सिभिल पोसाकमा बाहिर घुम्नु पनि जीवनकै मूल्यमा हो। उनी भन्छन्, ‘क्याम्पभित्र अलि डर कमै हुन्छ। बाहिर निस्किँदा चाहिँ साह्रै नै खतरा हुन्छ। कुन गाडी वा मान्छे बम हो थाहै हुन्न।’
राजु काठमाडौं आएको लामो समय भइसके पनि त्यहाँ रहेका साथीहरूले बोलाइरहन्छन्। राम्रो पैसा कमाइ पनि हुन्छ। ‘तर अब म जादिनँ होला,’ उनले भने, ‘फर्किएर आएपछि त्यत्रो जोखिमको ठाउँमा के जानु र!
काबुलमा १२ नेपाली सेक्युरिटी गार्ड मारिएको घटनाले त अफगानिस्तान नफर्किने सोच अझ बलियो भएको उनी बताउँछन्।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस

(adsbygoogle = window.adsbygoogle || []).push({});
SHARE

About News Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment